कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जिल्लासहित कर्णाली प्रदेशका सात वटा जिल्लामा टाइफाइड विरूद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ।
भूकम्पबाट प्रत्यक्ष रूपमा प्रभावित जिल्लाहरू जाजरकोट र रूकुम पश्चिम, ती जिल्लासँग सिमाना जोडिएका सल्यान, सुर्खेत, दैलेख, जुम्ला र कालीकोटमा टाइफाइड विरूद्धको खोप अभियान थालिएको हो।
जाजरकोट र रूकुम पश्चिममा पुस २ गतेदेखि नै खोप अभियान सुरू गरिएको हो। ती जिल्लालाई खोप अभियानअन्तर्गतको पहिलो वर्गमा राखिएको थियो। भूकम्पबाट प्रभावित दुई जिल्लामा टाइफाइडबाहेक दादुरा तथा रूबेलाविरूद्धको खोप पनि लगाइएको छ। जाजरकोट र रूकुम पश्चिममा मंगलबार खोप लगाएर सकिन्छ।
सल्यान, सुर्खेत, दैलेख, कालीकोट र जुम्लामा अभियानअन्तर्गत दोस्रो वर्गमा राखेर खोप लगाइने स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक तथा खोप अभियानका फोकल पर्सन घनश्याम बुढाले जानकारी दिए।
यी जिल्लामा १६–४५ वर्ष उमेर समूहका मानिसलाई टाइफाइड विरूद्धको खोप मात्र लगाइने उनले बताए।
आपतकालीन अवस्थामा स्वासप्रस्वास, दुषित पिउने पानीका माध्यमबाट लाग्ने टाइफाइडबाट बच्न सरकारले भूकम्प प्रभावित र सिमाना जोडिएका जिल्लाहरूमा खोप अभियान सुरू गरेको उनले जानकारी दिए।
‘अहिले भूकम्पको प्रभाव भोगिरहेका जिल्लाहरूमा दादुरा–रूबेला, टाइफाइडको समस्या आउन सक्छ, विशेषगरी ती जिल्लाबाट सिमाना जोडिएका अरू जिल्लामा टाइफाइड सर्ने धेरै जोखिम हुन्छ,’ फोकल पर्सन बुढाले भने, ‘अरू जिल्लामा सर्ने सम्भावित जोखिमबाट बच्न पनि आसपासका थप पाँच जिल्लामा खोप लगाउन लागिएको हो।’
टाइफाइडविरूद्धको खोप ९६ प्रतिशत प्रभावकारी रहेको अध्ययनबाट पाइएको उनले बताए।
यो खोप लगाउँदा कोभिड–१९ विरूद्धको खोप लगाएको १४ दिन पुगेको हुनुपर्छ। तत्कालका लागि संघीय सरकारले कोभिड खोपका लागि जिल्लाहरूमा आएको बजेटबाट टाइफाइड विरूद्धको खोप लगाउन भनेको बुढाले जानकारी दिए।
टाइफाइड झट्ट हेर्दा महामारीजस्तो नदेखिए पनि भित्री रूपमा गम्भीर देखिएकाले यसको सम्भावित जोखिमबाट बच्न भूकम्प प्रभावित र सिमाना जोडिएका जिल्लाहरूमा खोप अभियान चलाइएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए।
स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार सुर्खेतका २ लाख १ हजार ९६३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।
सुर्खेतमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको छ। पहिलो चरणमा पुस १२–१५ गतेसम्म लेकवेशी नगरपालिका, चिंगाड गाउँपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन गरिँदैछ।
दोस्रो चरणमा पुस २१–२५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
सल्यान, दैलेख, कालीकोट र जुम्लामा पनि यही महिनाभित्र टाइफाइड विरूद्धको खोप अभियान सञ्चालन गरिनेछ।