काठमाडौंको बानेश्वरमा ढल निर्माणको काम गरिरहँदा पुरिएका मजदुरको उद्धार भएको छ।
मंगलबार राति ११:४३ बजे काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको उद्धार भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाँचथर फिदिम नगरपालिका-१२ घर भई गौशाला बस्ने २५ वर्षीय योगेन्द्र लिम्बुको उद्धार भएको हो।
सेतो पुल जाने बाटोको बीच सडकमा ढल निर्माण भइरहेको बेलामा अचानक माटोको ढिस्को झरेर उनी पुरिएका थिए।
पुरिएपछि प्रहरी कन्ट्रोलमा खबर भएको थियो। त्यसपछि प्रहरी वृत्त गौशालाबाट डिएसपीको कमान्डमा खटिएको टोलीले उनको उद्धार गरेको थियो।
लिम्बुको पुरानो बानेश्वरस्थित फ्रान्टलाइन अस्पतालमा उपचार भइरहेको छ।