गौशाला पशुपति मन्दिर क्षेत्रबाट हराएकी साढे दुइ वर्षकी बालिका आशिका सुनुवारलाई प्रहरीले तीन दिनपछि भक्तपुरबाट उद्धार गरेको छ।
सिन्धुपाल्चोक घर भई पशुपतिमा चिया व्यापार गर्दै आएकी ३४ वर्षीया लक्ष्मी सुनुवारले चिया खान आएको व्यक्तिले छोरीलाई लगेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्।
उनले खबर गर्नसाथ जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी कार्य गरेको थियो। बिहीबार बिहान भक्तपुर बालकोट क्षेत्रबाट बालिकालाई सकुशल उद्धार गरिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार बालिकालाई लिएर गएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
'सोधपुछ गर्ने काम भइरहेको छ, केहीबेरमा थाहा हुन्छ,' एसपी रेग्मीले भने।