गौशाला पशुपति क्षेत्रबाट साढे दुई वर्षकी बालिकालाई अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
रामेछाप घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीट्याङकी बस्ने ३७ वर्षीय राज नेपाल पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार दिउँसो पक्राउ गरेको हो।
गौशाला पशुपति क्षेत्रबाट साढे दुई वर्षकी बालिका आशिका सुनुवारलाई अपहरण गरेको भन्ने निवदेन थियो। अनुसन्धानको क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।
'किन अपहरण गरेको भनेर खुलिसकेको छैन, अनुसन्धान गर्ने काम भइरहेको छ,' एसपी रेग्मीले भने।
सिन्धुपाल्चोक घर भई गोठाटार बस्ने ३४ वर्षीया लक्ष्मी सुनुवारले पशुपति क्षेत्रमा चिया व्यापार गर्छिन्। चिया बेच्न आउँदा उनले छोरीलाई साथमा लिएर आउने गर्थिन्।
मंगलबार साँझ पनि छोरीलाई साथमा लिएर आएकी थिइन्। तर चिया पिउन आउने व्यक्तिले छोरीलाई उठाएर लगेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोज्ने क्रममा बालिकालाई बिहीबार दिउँसो भक्तपुरबाट सकुशल उद्धार गरेको थियो।
बालिकालाई उद्धार गरेसँगै बालिकालाई अपहरण गरेको आरोपमा नेपाललाई पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी रेग्मीले बताए।