मानव सेवा आश्रमले बुटवलमा आमा सेमिनार गर्ने भएको छ। यही पुस १४ गते शनिबार बुटवल सभाहलमा आमा सेमिनार आयोजना गर्न लागिएको आश्रमले जानकारी दिएको हो।
सेमिनारमा मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी प्रमुख प्रशिक्षकको रूपमा रहने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए।
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम सद्भाव, करूणालाई जनजनमा पुर्याउने उद्देश्यले आमा सेमिनार आयोजना गर्न लागिएको उनले बताए।
आश्रमले सकारात्मक सोच, सिर्जनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील र आत्मनिर्भर बनाउने उद्देश्यले यसवर्ष देशका विभिन्न ४५ स्थानमा आमा सेमिनार आयोजना गर्ने जनाएको छ।
यता मानव सेवा आश्रम बुटवलले स्थापनाको पाँच वर्षको अवधिमा आठ सय ६६ जनाको उद्धार गरेको दाबी गरेको छ।
२०७५ साल पुस ७ गतेदेखि बुटवल सुख्खानगरमा एउटा भाडाको घर लिएर सेवा सुरू गरेको आश्रमले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एक सय १९ जनाको उद्धार गरेको थियो।
आश्रमले विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलहरूमा जीवन बिताउन बाध्य अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडक आश्रित मानवहरूको उद्दार गरी परामर्श, औषधोपचार तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ।
बुटवलबाट हालसम्म दुई सय ५४ जनाको पारिवारिक पुनर्मिलन, ९२ जनाको सामुदायिक पुनर्मिलन तथा ९१ जनालाई आश्रम परिवर्तन गराएको थियो। त्यस्तै, एक सय ६३ जनाले स्वेच्छाले आश्रम छोडेका छन् भने पाँच वर्षमा एक सय ४० जनाको मृत्यु भएको छ।
आश्रमको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ठूलो रहेको छ। गत आर्थिक वर्षमा मात्रै ३१ जनाको मृत्यु भएको बुटवलस्थित लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सरू अधिकारीले जानकारी दिइन्।
‘पारिवारिक बिछोड, अपहेलना, गरिबी तथा मानसिक रूपमा विक्षिप्त भई लामो समय सडकमा कष्टकर जीवन बिताउनुपर्दा उहाँहरूमा स्वास्थ्यका विभिन्न समस्या देखिएका हुन्छन्, उहाँहरूको उपचारको क्रममा मृत्यु हुने गरेको छ,’ अधिकारीले भनिन्।
बुटवल सुख्खानगर र तिलोत्तमाको भलवारीमा गरी हाल आश्रम एक सय ६६ जनाले आश्रय लिइरहेका छन्। जसमध्ये आठ जना बालिका र पाँच जना बालिका गरी १३ जना बालबालिका रहेका छन्।