अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए।
उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे।
सामाजिक सञ्जालमा नकारात्मक कुरा भएपनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो। हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत गरे।
‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । विदेशी रेमिटेन्स पनि स्वदेशमा आइरहेको छ। बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । शेयर मार्केट पनि बढेको छ। जग्गाको कारोबार पनि बढेको छ ।
अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गरे।
सामाजिक सञ्जालमा नेगेटिभ कुरा धेरै बिके। नेगेटिभ कुरा गर्यौं भने त्यसमा लाइक, फलोअर्स पनि बढिहाल्छ। अरु क्रियटिभ कुरा, पोजेटिभ कुराहरुलाई सहजै विश्वास गरिँदैन । त्यसकारण अब यो कुरा जो तथ्य सामुन्ने छ । त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ रआत्मविश्वास बढ्छ। आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ। अघि मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ। त्यसो हुनाले आर्थिक वृद्धिको हाम्रो ६ प्रतिशतको लक्ष्य पनि करिव हामीले प्राप्त गर्ने सम्भावना देखिँदैछ।’ (न्युज एजेन्सी नेपाल)