मर्दी हिमाल पदमार्गमा सोलो (एकल) पदयात्रामा गएका स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्ग बेपत्ता भएका छन्।
पदमार्गको लो क्याम्प माछापुच्छ्रे गाउँपालिकाले राखेको सूचना केन्द्रमा गत शुक्रबार आफ्नो नाम दर्ता गरेका मिचल शनिबार बिहान ४ बजेदेखि बेपत्ता भएको माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरूङले बताए।
‘मर्दी पदमार्गको हाइ क्याम्पबाट मर्दी बेस क्याम्पमा जान शनिबार बिहान ४ बजेर होटलबाट उठेर गएका रहेछन्,’ गुरूङले भने, ‘त्यसपछि उनी फर्किएका छैनन्।’
गुरूङका अनुसार मर्दी हाइ क्याम्पबाट मर्दी हिमालको बेस क्याम्प पुग्न ४ घण्टा हिड्नुपर्छ।
हाइक्याम्पदेखि माथि बेस क्याम्पसम्म कहीँ पनि होटल लागयत व्यवसाय नभएको उनले बताए। समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइँमा रहेको बेसक्याम्प जाँदा हराएका मिचलको खोजी गर्न गाउँपालिका र प्रहरीले टोली खटाएको उनले बताए।
‘हामीले मिचलको खोजी र उद्धार गर्न स्थानीय टोली खटाएका छौं, पोखराबाट प्रहरी टोली पनि उनलाई खोज्न गएको छ,’ उनले भने।
यसबारे काठमाडौंस्थित स्विडेनको राजदूतावासमा पनि इमेलमार्फत जानकारी गराएको गुरूङले बताए।