जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकार रंगभेदी भएको आरोप लगाएका छन्।
उनले धोती दिवस मनाउँदा पार्टी अध्यक्ष, आफ्नै क्याबिनेटको मन्त्रीसमेत पक्राउ गरेको बताए।
‘उहाँहरूले कुनै अर्को राष्ट्रिय पार्टीको अध्यक्ष राष्ट्रिय पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समातेर देखाउनुस् त! सकिँदै न नि! देशमा कस्तो रंगभेद र विभेद छ भने मधेसी पार्टीको त हो नि, मधेसीहरूको हो भनेर जतिखेर पनि समात्दिने,’ पुलिस क्लबबाट रिहा भएलगत्तै उनले भने।
उनले आफूहरूले संयमता अपनाएकाले देशमा आगो नबलेको पनि बताए।
‘नभए देशमै आगो बल्न सक्ने अवस्था सिर्जना हुन्थ्यो। उहाँहरूले जुन तरिकाले बल प्रयोग गर्नुभयो, जुन तरिकाले दम्भ देखाउनुभयो, जुन तरिकाले माननीयज्यूहरू, राष्ट्रिय अध्यक्ष, सभापति, मन्त्रीसमेतलाई पक्राउ गरियो,’ उनले भने।
उनले सरकारले आफ्नै मन्त्रीलाई पक्रिएर हिरासतमा लिने कतै नभएको घटना भएको पनि बताए।
‘कतै नभएको कुरा यो सुरकारले गरिराखेको छ। त्यसकारण देशमा मानवअधिकार, लोकतन्त्रको स्थिति, गणतन्त्रको स्थिति कस्तो छ भनेर यसले छर्लङ देखाइराखेको छ,’ उनले भने।
जनमत पार्टीले अंग्रेजी नयाँ वर्षका दिन धोती दिवस मनाइनुपर्ने माग राख्दै माइती घरमाप्रदर्शन गरेका थिए।
धोतीलाई राष्ट्रिय पोशाको मान्यता दिइनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका जनमत पार्टीका अध्यक्ष सीके राउत, मन्त्रीसमेत रहेकी केन्द्रीय सचिव अनीता देवी, बिपी साहलगायत ६३ जना नेता कार्यकर्तालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।