बाँकेको नेपालगञ्जमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाएका दुबै मृतकको सनाखत भएको छ।
मृतक पुरूष बर्दियाको राजापुर नगरपालिका–१० का २५ वर्षीय मायाराम चौधरी रहेको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए।
सोही दुर्घटनाकी मृतक मध्ये नेपालगञ्ज उपमहानगरपालिका–१३ की २४ वर्षीया आस्था शाहको बिहानै सनाखत भइसकेको थियो। उनीहरू दुबैलाई नेपालगञ्ज मेडिकल कलेजमा पुर्याउन बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यही दुर्घटनामा परी नेपालगञ्ज–१३ की २५ वर्षीया साहाना शाह घाइते भएकी छन्। उनको नेपालगञ्जमै उपचार भइरहेको प्रहरीले बताएको छ।
चालकले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको डिएसपी डाँगीले बताए। चालक कैलाली लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘मदिराले मातेका चालकले तीव्र गतिमा हाँकेको स्कार्पियो अनियन्त्रित भई सडकमा हिडिँरहेका पैदल यात्रुलाई ठक्कर दिएको कुरा अनुसन्धानबाट खुलेको छ,’ उनले भने।
नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा सु-प-प०१००१ च ३४६४ नम्बरको स्कार्पियोले गएराति साढे १२ तीन जनालाई ठक्कर दिएको थियो।