चितवनका दुई ठूला नदीहरूमा गरिएको अनुगमनका क्रममा २६५ वटा घडियाल गोहीहरू भेटिएका छन्।
पुस १ देखि १५ गतेसम्म गरिएको अनुगमनमा नारायणी नदीमा ११३ र राप्तीमा १५२ वटा घडियाल गोहीहरू भेटिएका हुन्। यी दुई नदी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्छन्।
निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अनुगमनका क्रममा ३ वटा डल्फिनहरू पनि भेटिएको जानकारी दिए।
विगतमा नारायणी नदीको उपल्लो क्षेत्रमै डल्फिन देखिने गरेकोमा लामो समय देखिन छाडेका थिए। गोही अनुगमनका क्रममा नदीको तल्लो क्षेत्रमा डल्फिनहरू देखिएको तिवारीले बताए।
नारायणी नदीमा ३ वटा र राप्तीमा ३ वटा भाले गोही भेटिएको उनले बताए। घडियाल गोहीहरू संकटापन्न अवस्थामा रहेका जिव हुन्। गोहीलाई प्राकृतिक बासस्थानमा जोगाउन सकस हुँदै आएको छ। भएका गोहीमा पनि भाले असाध्यै कम छन्।
चितवन निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा प्रजनन् भएका गोहीहरूलाई हुर्किएपछि नारायणी र राप्ती नदीमा छाड्ने गरिएको छ।
सन् १९८१ यता प्रजनन् केन्द्रमा हुर्किएका १८ सय ५२ गोही नदीमा छाडिएकोमा अहिले अनुगमनका क्रममा २५६ वटामात्रै भेटिएका हुन्।
नदी क्षेत्रमा बढेको मानव चहलपहल, फोहोर, माछा मार्ने चलनलगायतका कारण गोही संकटमा पर्दै आएका छन्। धेरै गोही बर्खामा बाढीले बगाएर भारत पुग्ने गरेका छन्।
गोही अनुगमन कार्यमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाका गरी १० जना कर्मचारी सहभागी थिए। अनुगमनमा काठको डुंगा, रवर वोट, जिपिएस, क्यामेरा, दुरबिनलगायतका सामग्री प्रयोग भएको तिवारीले बताए।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आइयुसिएन)ले घडियाल गोहीलाई अति संकटापन्न सरीसृप प्राणीका सूचीकृत गरेको छ। यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसलाई संरक्षित वन्यजन्तुमा सूचीकृत गरेको छ।