ललितपुरमा रहेको राष्ट्रिय मानव अधिकार आयोग अगाडि प्रदर्शन गर्न पुगेका आरती साहको परिवारसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२०१ दिनदेखि न्याय माग्दै काठमाडौंमा बसिरहेका साहका परिवार र समर्थकलाई प्रहरीले मंगलबार बिहान साढे ११ बजे नियन्त्रणमा लिएको हो।
बुवा विनोदप्रसाद साह, दाजु प्रेम साह, अभियन्ता जस्मिन ओझा, विनु यादव, कृतिका यादव र दीपक गुप्तालाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएको थियो।
उनीहरू निषेधित क्षेत्रमा प्रदर्शन गर्न बसेकाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए।
'दिउँसो पक्राउ गरेका हौं, एकैछिनमा छोडिदिन्छौं,' एसपी कार्कीले भने।
आरती जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका-९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। त्यसलाई माइती पक्षले आत्महत्या नभई हत्या भएको भन्दै असार १ गतेदेखि धर्ना दिँदै आएको छ।
माइतीघर मण्डलमा धर्ना बस्न निषेध गरेपछि उनीहरू रत्नपार्कको शान्तिवाटिका पार्कमा बस्दै आएका छन्। प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको उनीहरूको आरोप छ।
आरती साहको श्रीमान मोतीबाबु साह प्रहरी नियन्त्रणमा छन्।
गत मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई पुन: पक्राउ गरिएको हो।
आरतीको मृत्युपश्चात पक्राउ परेका श्रीमान र ससुरालाई असोज १८ गते उच्च अदालत जनकपुरले दुबै जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरूद्ध आरतीका परिवार सर्वोच्च अदालत पुगेका हुन्।