प्रहरीले नियन्त्रणमा लिएका आरती साहका परिवारसहित ६ जना छुटेका छन्।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडिबाट पक्राउ गरेको थियो।
आरतीका लागि न्याय माग्दै उनका बुबा विनोदप्रसाद साह, दाजु प्रेम साह, अभियन्ता जस्मिन ओझा, विनु यादव, कृतिका यादव र दीपक गुप्ताले आयोग अगाडि प्रदर्शन गरेका थिए।
नियन्त्रणमा लिएको पाँच घन्टापछि उनीहरूलाई छोडिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए।
'निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गर्दै कागजात गराएर उनीहरूलाई छोडिएको हो,' उनले भने।
जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका-९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन्। माइतीपक्षले त्यसलाई आत्महत्या नभई हत्या भएको भन्दै असार १ गतेदेखि माइतीघर मण्डलमा धर्ना बस्दै आएका थिए।
माइतीघरमा धर्ना बस्न निषेध गरेपछि रत्नपार्कको शान्तिवाटिका पार्कमा बस्दै आएका छन्। प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको आरोप लगाउँदै आएका छन्।