सर्लाहीको बरहथवा नगरपालिका परिसरमा तनाव उत्पन्न भएको छ।
अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीय नगरपालिका कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले रोकेको थियो।
रोक्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको बरहथवा नगरपालिकाका उपमेयर रामबाबुप्रसाद साहले जानकारी दिए।
उनकाअनुसार निर्माण सम्पन्न हुन लागेको अस्पताल प्रदेशले चलाउने कि नगरपालिकाले भन्ने विषयमा निर्णय गर्न शुक्रबार सर्वदलीय बैठक राखिएको थियो।
बैठक चलिरहँदा स्थानीयहरू नगरपालिका कार्यालय अगाडि पुगेर नाराबाजी गर्न थालेपछि बैठक स्थगित गरिएको हो।
साथै त्यहाँ प्रहरी परिचालन गरिएको थियो। आन्दोलनकारी र प्रहरीबीच झडप भएर स्थिति अशान्त बनेको उपमेयर साहले जानकारी दिए।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको बताए।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको र थप विवरण आइनसकेको उनले बताए। प्रदर्शनकारीले नगरपालिकामा ढुंगामुढा गरेका छन्।
यस्तै गाडीमा पनि आगजनी गरेका छन्।