मुखको क्यान्सर भनेको मुखको भागहरूमा आउने क्यान्सरको रोग हो। मुखको भाग भन्नाले जिब्रो, दाँत, गालाको भित्री भाग, बंगारा, जिब्रोको मुनिको भाग र तालु पर्छ। यी अंगमा आउने क्यान्सरलाई मुखको क्यान्सर अन्तर्गत राखिन्छ।
दक्षिण एसियामै मुखको क्यान्सर महामारीको रूपमा फैलिएको छ। यसको मुख्य कारण सुर्तीजन्य पदार्थ नै हो। मुखको क्यान्सरको ९९ प्रतिशत कारण चुरोट, सुर्ती हो। सुर्ती, चुरोट, गुट्का सँगै मदिरा सेवन पनि एउटा कारक हो।
नाम फरक भए पनि करेन्ट, पराग, गुट्खा पनि सुर्तीजन्य पदार्थमै पर्छ। कतिले त मैले सुर्ती खाएको होइन, पराग खाएको भन्छन् तर यी सबैले असर गर्छ।
मुखको क्यान्सर भयो भने मुखमा ठीक नहुने घाउ आउँछ। यो घाउ घाँटीमा समेत सर्न सक्छ। गिर्खा गाठाहरू आउने, दाँत हल्लिने, फुक्लिने समेत यसका लक्षण हुन्। अरू क्यान्सर भएजस्तो हुँदैन। किनकि मुखमा क्यान्सर भएको देख्न सकिन्छ। यस्ता लक्षणहरू देखिएमा चिकित्सककहाँ जानुपर्छ। क्यान्सर भयो भने मुख सेतो भएर जाने, मुख खोल्न नसक्ने समेत हुन्छ।
मुखको क्यान्सर पूर्वकै अवस्थामा धेरै थाहा पाउन सकिन्छ। यस्तो बेलामा अपरेसन गरेर या औषधि उपचारले ठीक हुन सक्छ।
मुखको क्यान्सरका बिरामीलाई किमोथेरापीको खासै भूमिका छैन। यसको उपचारको मुख्य प्रविधि भनेको अपरेसन नै हो। अपरेसन गर्न नसक्ने बिरामीको लागि रेडियो थेरापी दिन सकिन्छ।मुखको क्यान्सरको उपचार नेपालमै सम्भव छ।
मुखको क्यान्सरबाट जोगिने भनेको सुर्तीजन्य पदार्थबाट टाढा रहने हो। क्यान्सर पूर्वको अवस्था देखियो भने तत्काल उपचार गर्नुपर्छ। त्यस्तै मुखमा निको नहुने खालका घाउहरू आए भने चिकित्सकलाई देखाउनु पर्छ।
(नाक, कान, घाँटी रोग विशेषज्ञ डा.सन्देश मैनाली भक्तपुर क्यान्सर अस्पताल र नेसनल क्यान्सर अस्पतालमा कार्यरत छन्।)