पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशय सहित जारी भएको सूचनामा कोषको संलग्नता नभएको बताएको छ।
पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले त्यसरी निकालिएको सूचनामा कोषको नाम र लोगो प्रयोग भएकोमा पनि अहसमति जनाएको छ।
यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राखेर व्यापारिक प्रयोजनका लागि भिडिओ खिच्न नपाइने भनेको थियो।
‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं।’
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पूजा, ब्रतबन्ध लगायत व्यक्तिगत कार्यक्रममा आउँदा मेमोरीका लागि फोटो/भिडिओ खिच्न पाइए पनि व्यवसायिक उत्पादन र प्रसारण भने गर्न नपाइने बताएका थिए।
मन्दिरभित्रै प्रवेश गरी भिडिओहरू पनि खिचिएको र त्यसलाई हटाउन नसकेको हुनाले पनि यस्तो निर्णय गर्नुपरेको उनको भनाइ थियो।
शनिबार जारी गरिएको सूचनामा भने यसमा कोषको कुनै संलग्नता नरहेको उल्लेख छ। त्यसरी जारी भएको सूचनाप्रति कोषको गम्भीर ध्यानाकर्षण समेत भएको भनिएको छ।
‘लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ,’ सूचनामा भनिएको छ, ‘उक्त सूचना प्रकाशित प्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ।’

यो पनिः
पशुपति क्षेत्रमा दीप प्रज्वलनको भिडिओ व्यापारिक प्रयोजनका लागि खिच्न निषेध