उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिनालाई अस्पतालले मानव आश्रम सेवा पठाएको छ।
भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गरेका थिए।
६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा अस्पतालमै बसेका थिए।
परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई हेटौंडास्थित मानव सेवा आश्रमको जिम्मा लगाएको हो।
दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन सो अस्पतालमा रहेको अस्पतालले जनाएको छ ।
उनी निको भएको ६ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब चार लाख १५ हजार नहुँदा घर जान पाएका थिएनन्।
त्यसबारे विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेपछि अस्पतालले उनले बुझाउन बाँकी रकम नलिई मानव सेवा आश्रममा पठाइएको अस्पतालका अध्यक्ष डा. गिरिराज भन्तानाले बताए।
'त्यहाँको प्रमुखसँग कुरा गरी म आफैंले दुर्गाप्रसादजीलाई आश्रममा पुर्याँएको हुँ,' उनले भने। उनका अनुसार मानव सेवा आश्रमले उनको जिम्मा लिने भनेपछि बिहीबार दुर्गाप्रसादलाई त्यहाँ पुर्याइएको हो।
उनले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताए।
‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया हो,’ डा. भन्तानाले भने, ‘शत प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ।’
उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताए।
दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता भएका थिए।
घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका थिए। २०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए । विभिन्न सङ्घ–संस्थाको पहलमा उनलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो।
इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो। कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो। उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार प्रदान गरेको थियो ।
उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो ।
लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए। (सच्याइएको)