काठमाडौं जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ।
आइतबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले टुटलका संस्थापक भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
उनका अनुसार भट्टलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको हुँदा रिहा गर्न आदेश दिइएको हो।
‘उहाँलाई थुनामा राखी अनुसन्धान गर्नु नपर्ने देखिएको हुँदा हाजिरी जमानीमा रिहा गर्न आदेश दिइएको हो,’ उनले भने। शिक्षितलाई उनका बुवा प्रेमशंकर भट्टको जिम्मामा छाडिएको हो।
आइतबार हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले उनलाई जिल्ला अदालत लगेको थियो।
बिहीबार साँझ आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी आरोपमा भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।