सुर्खेतमा अस्पताल भवन निर्माणको ठेकेदार कम्पनीले भुक्तानी नदिएको भन्दै सहायक ठेकेदार गुहार माग्दै प्रशासन कार्यालय पुगेका छन्।
कालीकोटकोटको सुपरस्टार कन्स्ट्रक्सन प्रालिले कामको जिम्मा दिएर लाखौं रकम भुक्तानी नगरेपछि असुलउपरमा सहजीकरण गरिदिन सहायक ठेकेदारले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई निवेदन दिएका छन्।
सुपरस्टार कन्स्ट्रक्सनले सुर्खेतको आयुर्वेद अस्पताल र दैलेखको जिल्ला अस्पतालको भवन निर्माणको ठेक्का पाएको थियो। ठेक्का पाएको उक्त कन्स्ट्रक्सनले मजदुरसहित कामको जिम्मा बर्दियाका गणेश चौधरीलाई दिएको थियो। काम गरेको आधाभन्दा बढी रकम नपाएपछि आफू समस्यामा परेको चौधरीले बताए।
ठेकेदार कम्पनी र चौधरीबीच २०८० साउन २० गते दैलेख अस्पताल र सुर्खेतको आयुर्वेद अस्पतालको काम गर्ने र कामको प्रगतिका आधारमा किस्तामा भुक्तानी गर्नेगरी लिखित सम्झौता भएको थियो।
दुवै भवनमा आफूहरूले काम गरेवापतको १३ लाख रुपैयाँ मजदुरको पारिश्रमिक कम्पनीले भुक्तानी नगरेको चौधरीले बताए। यस्तै कम्पनी सञ्चालक र आफूबीच मौखिक सहमति गरी भवनमा आवश्यक काठ ल्याएको एक लाख ६० हजार रुपैयाँ नपाएको गुनासो उनले गरे।
‘हामीले सम्झौताअनुसार काम गर्यौं, भुक्तानी नपाएपछि मजदुरहरूले मेरो घर घेरिरहेका छन्,’ उनले भने, ‘तत्काल काठ किन्ने पैसा नभएपछि ठेकेदारले मलाई चिनेको ठाउँबाट ल्याउनू भनेपछि ल्याएको काठको पैसा पनि दिएका छैनन्, मैले रासन किनेको ठाउँमा दिएको चेक बाउन्समा परेको छ।’
गणेशले मजदुरहरूका लागि रासन किनिदिएको पसलमा ९५ हजार रुपैयाँको चेक दिएका थिए। ठेकेदार कम्पनीले समयमै रकम भुक्तानी नगरेपछि त्यो चेक बाउन्समा परेको उनले बताए।
उनका अनुसार दुईवटा भवनमा ५७ जनाले काम गरेका छन्। तीमध्ये २७ जना मिस्त्री र २१ जना मजदुर थिए। उनीहरूले २ महिना बढी काम गरेको गणेशले बताए।
उनका अनुसार मिस्त्रीलाई दैनिक एक हजार र मजदुरलाई दैनिक सात सय ५० रुपैयाँ दिने सहमति भएको थियो।
‘हामीले दुई महिना भन्दा बढी काम गरेको पैसा लिन बाँकी छ, तर मैले ६० दिनको मात्र हिसाब गरेर भुक्तानी दावी गरेको थिएँ,’ गणेशले भने, ‘काठसहित २५ लाख २९ हजार रुपैयाँ लिन बाँकी छ, हामीले अहिलेसम्म पटकपटक गरी १० लाख ६९ हजार मात्र भुक्तानी लिएका छौं।’
आफूले चिनजानका आधारमा ठेकेदार कम्पनीका लागि ल्याएको काठ मिलले आफ्नो मोटरसाइकल समेत खोसेर लगिसकेको उनले बताए। उनले एउटा भवनको सम्झौता गरेपनि अर्को भवनमा समेत काम गराएको गुनासो गरे।
अहिले सुपरस्टार कन्स्ट्रक्सन प्रालिका सञ्चालक र प्रतिनिधिहरू आफ्नो सम्पर्कमै नआउने गरेको उनले बताए।
उनीहरूले पैसा दिन बाँकी नभएको भनेर जित्न थालेको गणेशले बताए।
‘फोन उठ्दैन, म्यासेज गरेपनि प्रतिक्रिया आउँदैन, उहाँहरू आफूले पैसा दिन बाँकी छैन भनेर भन्नुहुन्छ,’ उनले भने, ‘चेक बाउन्समा परेर म जेल जाने अवस्था छ, मोटरसाइकल खोसिएको छ। मजदुरहरूले बारम्बार घर घेराउ गरेका छन्।’
उक्त कन्स्ट्रक्सन प्रालिका सञ्चालक तारा शाहले भने पिटी ठेक्का लिएका गणेशले भुक्तानी लिन बाँकी नरहेको बताएकी छन्। उनले आफ्नो तर्फबाट दिनुपर्ने रकम दिइसकेको बताउँदै गणेशले बदमासी गरेको आरोप लगाइन्।
‘उहाँलाई हामीले मजदुरहरूको हाजिरी लगाएर पैसा दिनेगरी सम्झौता गरेको पनि होइन, पिटी ठेक्का दिएर निश्चित रकममा काम गर्न भनेका हौं,’ शाहले भनिन्, ‘हामीले सम्झौताअनुसारको पैसा भुक्तानी गरिसकेका छौं, उहाँलाई चित्त नबुझे अदालत जान भनेका छौं।’
चौधरीले आफूले भुक्तानी नपाएको भन्दै सुर्खेतमा आयुर्वेद अस्पताल भवन बनिरहेको वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई निवेदन दिएका थिए। दुवै निकायले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि सहजीकरण गरिदिन भन्दै पत्र पठाएका छन्।
‘वडा, प्रशासन र प्रहरीमा पुगेपनि पार लागेन, हामी ठेकेदारबाट ठगियौं,’ उनले भने।