काठमाडौं महानगरपालिकाले घरपालुवा जनावरलाई बाहिर शौच गराए जरिवाना तिराउने भएको छ।
सोमबार महानगरक्षेत्रभित्र कुनै पनि घरपालुवा जनावर धनी जस्तै कुकुर बिरालोलाई शौच गराउन घर बाहिरका कुनै पनि सार्वजनिक स्थानमा निकाले कारबाही गरिने कृषि तथा पशुपन्छी विभागका प्रमुख अवधेश झाले बताए।
उनका अनुसार यसरी सार्वजनिक स्थानमा शौच गराएको फेला परे महानगरले पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ।
‘जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा-पिसाब गराएर फोहोरमैला गर्न पाइँदैन,' उनले भने, 'घरमा पालेको कुकुर बिरालो छाडा छोडेका पाएमा समेत सम्बन्धित धनीलाई महानगरले जरिवाना गर्नेछ।’
महानगर प्रहरी बलले यसको नियमन गर्ने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डले जानकारी दिए।
'हाम्रा पूर्व, पश्चिम, उत्तर र मध्य क्षेत्रबाट परिचालन हुने नगर प्रहरी टोलीले घर पालुवा कुकुर विरालोलाई सार्वजनिक स्थलमा शौच गराएको छ/छैन नियमन गर्नुहुन्छ,' उनले भने, 'उक्त कार्य गरिएको भेटे कारवाही प्रक्रिया अगाडि बढाउनु हुनेछ।’
केहि समयअगाडि महानगरले क्षेत्रभित्रका कुकुर र बिरालाहरूको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको थियो। जसमा घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरूको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जनावरधनीले गर्नुपर्ने उल्लेख छ।
महानगरले सामुदायिक कुकुर र बिरालाहरूको बन्ध्याकरण, खोप र अभिलेखन कार्यक्रम चलाउँदाका प्रक्रिया, शुल्क, दायित्वजस्ता विधिको व्यवस्था समेत गरेको छ ।
यस्तै, महानगर क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा छोड्न रोक लगाइएको कुरा कार्यविधिमा उल्लेख छ।