दाङमा बस दुर्घटना हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ।
नेपालगन्जबाट काठमाडौं आउदै गरेको बस दाङको भालुबाङ नदीमा खस्दा कम्तीमा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।
भे १ ख ३९१२ नम्बरको रात्री बस राप्ती गाउँपालिका भालुवाङस्थित शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको हो।
प्रजिअ सुवेदीका अनुसार २६ जना घाइते छन्। घाइतेहरूको उद्धार भइरहेको छ।
उक्त बसमा कतिजना यात्रु थिए भन्ने खुलिसकेको छैन।
'उद्धारको काम भइरहेको छ। कतिपयलाई गम्भीर अवस्थामा अस्पताल पठाइएको छ,' सुवेदीले भने।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धारको काम गरिरहेको बताए।
'बसभित्रै रहेकाहरूको अवस्था कस्तो छ भन्नसक्ने अवस्था छैन,' उनले भने।
घाइतेहरूलाई लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ।