नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने भएको छ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिमध्ये २० प्रकारका औषधि उत्पादन गरी वितरण गर्ने योजना अघि बढाइएको लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि लिमिटेडले स्वदेशमै औषधि उत्पादन गरी सरकारलाई बेच्ने तयारी गरिएको उनले बताए।
यसअघि नेपालमै औषधि उत्पादनका लागि लिमिटेडको क्षमता विस्तार गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी गर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएका थिए।
औषधि उत्पादनका लागि उद्योग मन्त्रालय र लिमिटेडबीच सम्झौता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आर्थिक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले २४ करोड ७८ लाख १२ हजार निकासाको तयारी गरेको छ।
उक्त रकम लिमिटेडले उत्पादनको विविधिकरणका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिद, मेसिनरी तथा प्लान्टो रिनोभेशन र उत्पादन विस्तारलगायत खर्च गर्ने भनिएको छ।
विगतमा लिमिटेडले एक सय ४६ प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । केही समय सिटामोलमात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ प्रकारका औषधि उत्पादन गर्दै आएको छ।
प्रधानमन्त्री प्रचण्डको निर्देशन र लिमिटेडले तयार पारेको कार्ययोजनासहित प्रतिस्पर्धा उत्रिनका लागि सहयोग पुग्ने महाप्रबन्धक पनेरुले विश्वास व्यक्त गरे।
‘हाल केही औषधिमा प्रतिस्पर्धा गर्न सकिन्छ, आगामी दिनमा कम्पनीको क्षमता विस्तार हुँदै गएपछि बजारमा उपलब्ध अन्य औषधिसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्नेछ,’ उनले भने।
गुणस्तरीय औषधि उपलब्ध गराउन लिमिटेडले तयार रहेको उल्लेख गर्दै उनले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए।
महाप्रबन्धक पनेरुका अनुसार कम्पनिले विगतको तुलनामा उत्पादन र बिक्री दुवै बढाएको छ । पछिल्लो एक महिनामै डेड करोडसम्मको औषधि बिक्री गर्न सफल भएको छ ।
लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानले सरकारले जनतालाई उपलब्ध गराउने ९८ प्रकारका औषधि उत्पादन गरेर बिक्री गर्ने मुख्य उद्देश्य रहेको र सोहीअनुसार अगाडि बढेको बताए।
प्रतिस्पर्धी क्षमता विस्तार गर्न हाल औषधि लिमिटेडले ओगटेको क्षेत्रलाई स्वआर्जनमूलक परिसरमा रूपान्तरण गर्ने, व्यावसायिक रूपमा ‘मेडिकल हब’ सञ्चालन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादनका कार्यका लागि क्षतता विस्तार गर्ने योजना बनाएको छ ।
वर्सेनि अर्बौको औषधिजन्य पदार्थको आयातलाई निरूत्साहित तुल्याउनका लागि पनि औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्दै उत्पादन बृद्धि गर्नुपर्ने देखिएको महाप्रबन्धक पनेरुले बताए।
उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ८० करोड बराबरको औषधिजन्य पदार्थ आयात भएको छ।
गत आर्थिक वर्षमा २०७९/८० मा ४४ अर्ब ६४ कारोड बराबरको औषधिजन्य पदार्थ नेपाल भित्रिएको थियो ।
सबैभन्दा बढी औषधिजन्य पदार्थ भारतबाट आउने गरेको छ । गत वर्ष नेपालबाट एक अर्ब ६० करोडका औषधिजन्य वस्तु निर्यात भएको थियो ।