भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको एक ट्रक लत्ताकपडा र जुत्ता रूपन्देही प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले गएको बिहीबार राति करिब १० बजेतिर सिद्धार्थनगर नगरपालिका सिटी अस्पताल चोकबाट उक्त सामान नियन्त्रणमा लिएको हो। ना ३ ख ५१८९ नम्वरको कन्टेनर (ट्रक) सहित सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख भरतबहादुर विकका अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षीय रामचन्द्र खत्रीले चलाएको उक्त ट्रकमा लैजान लागेको अवस्थामा सामान बरामद गरिएको हो।
बरामद गरिएको कपडामा १४ हजार ६ सय ३६ मिटरको ५६० थान काँचो कपडा, ३४० जोर महिलाका जुत्ता, ५ हजार १ सय ४ मिटरको १८९ थान नेट कपडा, ४४२ पिस दोसल्ला र ६१२ पिस साडी छ।
बरामद गरिएका लत्ताकपडा, ट्रक र चालकलाई समेत नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी प्रमुख विकले बताए।
त्यसैगरी प्रहरीले आइतबार बिहान करिब ५ बजे रूपन्देहीकै ओमसतिया गाउँपालिका वडा नम्वर ४ बसन्तपुरबाट १३५ बोरा प्याज र दुई थान मोटरसाइकल नियन्त्रणमा लिएको छ।
अवैध रूपमा भन्सार छलेर भारतबाट नेपालतर्फ लु ८ प ११३५ र युपी५५जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसारपसार गर्दै गरेको अवस्थामा १३५ बोरा प्याज बरामद गरिको जिल्ला प्रहरी प्रमुख विकले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बेवारिसे अवस्थामा फेला पारिएको मोटरसाइकल र प्याज आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको बताए। प्रहरी देखेपछि मोटरसाइकल छाडेर भागेकाले सामान ल्याउनेहरू फरार भएको प्रहरीले जनाएको छ।