ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ।
सोमबार बिहान ९:५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै एक घरमा खसेकी महिलाको उद्धार भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए।
दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। उनको खुट्टामा चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी कपडा धोइरहेकी थिइन्। कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढिन्।
त्यही बेला स्ल्याब फुटेर इनारभित्र खसेकी हुन्।
प्रधान इनारमा खसेको भन्ने खबर प्रहरीलाई पौने १० बजे भएको थियो। त्यसलगत्तै प्रहरी प्रभाग इमाडोलबाट सई श्यामकृष्ण अधिकारीको टोली घटनास्थलमा पुगेको थियो।
यस्तै ललितपुर महानगर प्रहरीको टोली घटनास्थलमा दमकल सहित पुगेको थियो। प्रहरी वृत्त सातदोबाटोबाट डिएसपी उमेश जोशी नेतृत्त्वको टोली पनि घटनास्थलमा पुगेका थिए। सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको थियो।
यो पनि: कपडा सुकाउन इनारमा टेकेकी थिइन्, स्ल्याब फुटेर खसिन्