बर्दियामा जंगली हात्ती र चितुवाको आक्रमणमा परी दुई दिनमा तीन जना महिला घाइते भएका छन्।
मधुवन नगरपालिका–१ दुर्गा नगरकी ५२ वर्षीया सीता थारू र ३१ वर्षीया सुशिला चौधरी जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्।
स्थानीय दुर्गा सामुदायिक वनमा दाउरा काट्न भनेर गएका समयमा शुक्रबार दिउँसो पौने तीन बजेतिर जंगली हात्तीले उनीहरूमाथि आक्रमण गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालले सेतोपाटीलाई बताए।
जंगली हात्तीको आक्रमणबाट सीताको टाउकोमा र सुशिलाको टाउको, छाती र हात खुट्टामा चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ। उनीहरू दुबै जनाको जिल्ला अस्पताल गुलरियामा उपचार जारी छ।
माघ ४ गते दिउँसो मात्रै बारबर्दिया नगरपालिका – १० की २८ वर्षीया सर्मिला चौधरी चितुवाको आक्रमणबाट घाइते भएकी थिइन्। साइकलमा सवार चौधरीलाई चितुवाले बेलुका ६ बजेतिर आक्रमण गरी घाइते तुल्याएको थियो। उनी उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ।