बुटवल उपमहानगरपालिकाले उपमहानगरभित्रका विद्यालयहरूमा तीन दिन बिदा दिएको छ।
केही दिनयता बढेको अत्यधिक जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्य नै प्रभावित हुने गरेको भन्दै उपमहानगरपालिकाले तीन दिन विद्यालयमा जाडो बिदा दिने भएको हो।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सूचना जारी गर्दै उपमहानगरभित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म जाडो बिदा दिने बताए।
केही दिनदेखि अत्यधिक जाडो बढेकोले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा माघ ७ गते आइतबारदेखि माघ ९ गते मंगलबारसम्म तीन दिन जाडो बिदा दिइएको खनालले जारी गरेको सूचनामा उल्लेख छ।
विद्यालयहरूमा दिइने हिउँदे बिदाअन्तर्गत नै जाडो बिदा गरिएको खनालले जानकारी दिए। पुस तेस्रो सातादेखि बुटवल लगायत क्षेत्रमा अत्यधिक चिसो बढेको छ।
चिसोका कारण बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति लगायत आम सर्वसाधारणको जनजीवन नै कष्टकर बनिरहेको छ।
दिनभर लाग्ने बाक्लो कुहिरो तथा शितलहर र चिसो सिरेटोका कारण दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नेहरू सबभन्दा बढी मारमा परेका छन्।