सत्ता गठबन्धनको निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको समन्वय र सहजीकरणमा खटिने निर्णय गरेको छ।
नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रहेका समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा शनिबार बसेको बैठकले गठबन्धनबीच समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा जाने निर्णय गरेको हो।
बैठकमा साते प्रदेशमा गठबन्धनका उम्मेदवारहरूसँग निर्वाचनबारे जानकारी तथा सुझाव लिइएको र प्राप्त सुझावबारे छलफल भएको समितिका सचिव केशवराज जोशीले जानकारी दिए।
राष्ट्रिय सभाको रिक्त हुने १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ।
गठबन्धनले प्रदेशमा विभिन्न क्लष्टरअनुसार भागबण्डा गरि सिट बाँडफाँड गरेका थिए।
जसअन्तर्गत कांग्रेसले १० सिट, माओवादीले ६ सिट, एकीकृत समाजवादीले २ सिट र जनता समाजवादी पार्टीले १ सिट पाएका छन्।
गठबन्धन दलका शीर्ष नेताहरूले साझा उम्मेदवारलाई मतदान गर्न यसअघि नै आग्रह गरिसकेका छन्।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र नगरपालिका/गाउँपालिकाका प्रमुख/उपप्रमुख मतदाता रहन्छन्।