रोल्पामा एक युवकमाथि कुटपिट गरेको अभियोगमा तीन युवा पक्राउ परेका छन्।
रोल्पा नगरपालिका– २ पाकिस्तान टोलका २३ वर्षीय लिसाङ आचार्यलाई कुटपिट गर्ने सोही वडाको बिचबजारका २३ वर्षीय प्रकाश घर्ती, २० वर्षीय सन्तोष रिजाल र वडा नम्बर ४ लोकतान्त्रिक चोकका १८ वर्षीय दिविन श्रेष्ठ पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीराम भण्डारीका अनुसार आइतबार बेलुका साढे ५ बजेतिर बिचबजारस्थित पुल हाउसमा स्नुकर खेल्ने क्रममा विवाद भएपछि तीन जना मिलेर आचार्यमाथि निर्घात कुटपिट गरेका थिए।
लठ्ठीले आक्रमण गर्दा आचार्यको टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरी निरीक्षक भण्डारीले बताए। घाइते आचार्यको जिल्ला अस्पताल रेउघामा उपचारपछि नेपालगन्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा खटिएको दस जनाको प्रहरी टोलीले कुटपिटमा संलग्न तीन युवालाई पक्राउ गरेको थियो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।