राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटकको पत्रकार सम्मेलनमा आफूले आवेशवश 'पर्सनल अट्याक' गर्न पुगेको बताएका छन्।
नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि पनि आलोचना गरेका थिए।
सोमबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै उनले त्यसरी व्यक्तिगत तहमा उत्रिएर आलोचना नगरेको भए हुन्थ्यो भनेर महसुस गरेको बताए।
‘हामीले एक–अर्काविरूद्ध लड्ने होइन, बेथितिविरूद्ध लड्ने हो। तपाईंहरूले कत्तिले अपेक्षा गरेजस्तो अघिल्लो प्रेस मिटजस्तो हुनेजस्तो हुने हो कि, हेडलाइन पाइने भयो, गजब टिआरपी हुने भयो भनेर आउनुभयो होला, यसपालि तपाईंहरूलाई घाटा हुने भयो र अघिल्लोपटकको प्रेसमिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु। त्यसका लागि म क्षमा चाहन्छु। त्यस्तो मेरो उद्देश्य पनि होइन। कतिपय सवालमा डा. रामेश कोइरालाजस्तो साथीलाई पर्न गयो, यसपटक क्षमा गर्नुहोला। धर्म भुसाललाई, सम्भव सिरोहियालाई हुन गयो। मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने। त्यसरी आज प्रस्तुत हुँदिन, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने मैले विचार गरेको छैन,’ उनले भने।
सभापति लामिछानेले जिबी राई जोडिएको सहकारीको पैसा अपचलनमा आफूलाई जबरजस्ती मुछ्न खोजिएको भन्दै प्रष्टीकरणका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए।
उनले ग्यालेक्सी टेलिभिजनको गुडविल सेयर वापतको एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको बताए। एक करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको देखिए पनि पैसा आफ्नो खातामा नआएको बताएका थिए।
एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नै नभएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च:मतिमा सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बैंक खातामा पैसा नै जम्मा नभएको दाबी गरेका हुन्।
‘एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन,’ कान्तिपुर दैनिकको मुख्य समाचार देखाउँदै लामिछानेले भने, ‘एक करोड ८० लाख जम्मा भयो भनेर पत्रिकामा छ। व्याख्या त कति हुन्छ हुन्छ तर यो न्याय भयो त?’
उनले समाचारका लागि भन्दै सधैंजसो राति १० बजेतिर फोन आउने गरेको पनि बताए।
कान्तिपुर दैनिकले सोमबार 'ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा' शीर्षकमा समाचार लेखेको थियो। यसबारे प्रष्ट पार्न भन्दै लामिछानेले पत्रकार सम्मेलन गरेका थिए।