काठमाडौं महानगरपालिकाले मंगलबार (भोलि) देखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमाथि सवारी पार्किङमा रोक लगाउने भएको छ।
यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरी सरसफाइ गरिने छ।
‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं,' उनले भने, 'यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं।’
धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने पाण्डेल बताए। यस्तै, झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिकेको उनले बताए।
काठमाडौं टावरमा ३ सय वटा चारपांग्रे सवारी साधन र ७ सय वटा दुइ पांग्रे सवारी साधन पार्किङको क्षमता रहेको जनाइएको छ।