बर्दियामा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
बर्दिया बढैयाताल नगरपालिका-३ का १६ वर्षीय एक नाबालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी सहायक हवल्दार हरिनारायण ओलीले जानकारी दिए।
उनका अनुसार बढैयाताल नगरपालिका-३ की नाबालिकालाई बिहेको प्रलोभन देखाई माघ २ गते बलात्कार गरेको ती बालकमाथि आरोप छ। माघ २ गतेबाट ७ गतेसम्म नाबालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा माघ ९ गते नाबालकलाई पक्राउ गरिएको उनले बताए।
त्यस्तै, अर्का नाबालिकालाई बलात्कार गरेर फरार भएको आरोपमा अर्का एक नाबालक समेत पक्राउ परेका छन्।
बाँसगढी नगरपालिका-९ की एक नाबालिकालाई बलात्कार गरेर फरार भएका अर्का १६ वर्षीय नाबालिकलाई पनि पक्राउ गरिएको ओलीले बताए।
उनका अनुसार बढैयाताल गाउँपालिका-२ जमुनीमा लुकीछिपी बसेको अवस्थामा ती फरार नाबालकलाई बिहीबार पक्राउ गरिएको हो। माघ ४ गते बलात्कार गरेपछि उनी फरार थिए।
दुवै घटनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।