संखुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा दोषी ठहर भई फरार रहेकी एकजना २० वर्षपछि पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन् ।
सामूहिक हत्या प्रकरणमा संलग्न कैली तामाङलाई मोरङ प्रहरीको सहयोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
तामाङलाई मोरङको केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।
प्रहरीले बिहीबार उनलाई इलाका प्रहरी कार्यालय चैनपुर पठाएको छ।
बीस वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भए पनि फरार थिइन्।
गत २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन् ।
जिल्ला अदालतले २०६६ साल फागुन १२ गते निजलाई २० वर्ष कैद सजाय तोकेको थियो । संखुवासभाको साबिकको सिद्धकाली–२ का मङ्गल लिम्बू र योगेन्द्र दाहालको २०६० साल फागुन १० गते सामूहिक हत्या भएको थियो ।
खानेपानीको पाइप हराएको विवाद उत्कर्षमा पुग्दा पारिवारिक नाता सम्बन्धका आठजना मिलेर दुईजनाको सामूहिक हत्या गरेका थिए।
दुई पक्षबीच भएको विवादमा हाल पक्राउ परेकी कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ र लोकबहादुर तामाङ मिलेर मङ्गल र योगेन्द्रको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको १४ वर्षअघि नै अदालतबाट फैसला भइसकेको थियो।