पोखरास्थित एक विद्यालयमा अध्ययनरत १३ वर्षीया नाबालिकाले साथीमार्फत पोखरा-१३ का ६० वर्षीय करणबहादुर गुरूङसँग भेटिछन्। गुरूङले ‘तिम्रो साथीलाई मिलाइदेऊ न’ भनेर पहिलेदेखि नै ती नाबालिकालाई फकाएका थिए। उनले खाजा खाने बहानामा आफ्नो नाबालिका साथीलाई भेट गराउँछिन्।
भूतपूर्व भारतीय लाहुरे करणबहादुर गुरूङले नाबालिकालाई खाजा खुवाउँछन्। पैसा दिनुका साथै विभिन्न प्रलोभन देखाउँछन् अनि धम्की दिएर नाबालिकामाथि बलात्कार गर्छन्। पछिल्लो पटक पोखरा-१० स्थित निम्तो होटलमा कात्तिक १५ गते दिउँसो गुरूङले आफूलाई बलात्कार गरेको ती नाबालिकाले बताएकी छिन्।
आर्थिक प्रलोभन र धम्की दिएर दलित समुदायकी ती नाबालिकालाई बलात्कार गरेका गुरूङले नाबालिकाकी दिदीलाई पनि बोलाउँछन्। नाबालिकाको दिदी पनि नाबालिक नै छिन्। उनी १६ वर्षीया नाबालिका हुन्।
१६ वर्षीया नाबालिकालाई पोखरा-१० अवस्थित होटल अजम्बरीका संचालक डम्बरबहादुर गुरूङले बलात्कार गरेको उनले बताएकी छिन्। पछिल्लो पटक डम्बरबहादुरले कात्तिक ७ गते बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ।
डम्बरबहादुर र करणबहादुरले पैसा दिएर प्रलोभनमा पार्नुका साथै धम्की दिएर दुई छोरीलाई बलात्कार गरेको आमाले थाहा पाएपछि कानुनी कारबाही सुरू भएको छ।
नाबालिकाका परिवारले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि कारबाही प्रक्रिया अगाडि बढेको हो।
गत आइतबार जिल्ला अदालत कास्कीमा नाबालिका बलात्कार मुद्दा दर्ता भइसकेको प्रहरीले बतायो।
प्रहरीले अभियुक्त करणबहादुर र डम्बरबहादुर दुबैलाई सोही दिन नियन्त्रणमा लिएका थिए। अदालतमा जाहेरी दर्ता भएपछि गत बुधबार भएको थुनछेक बहसमा उनीहरू पूर्पक्षका लागि कारागार चलान भएका छन्।
नाबालिका बलात्कार मुद्दा हेरिरहेकी अधिवक्ता सुश्मा ओझाका अनुसार दलित समुदायका नाबालिका बलात्कार मुद्दामा छिटो सुनुवाइ गर्न अदालतमा माग राखेको बताइन्। अहिले नाबालिकाद्वय एक संस्थाको संरक्षणमा छन्।
पारिवारिक स्रोतका अनुसार करणबहादुर र डम्बरबहादुरका आफन्तले नाबालिकालाई बयान फेर्न संरक्षणमा बसिरहेको ठाउँमै पुगेर भेट्न खोजेका थिए। यस्तै नाबालिकाको परिवारलाई भेटेर बयान फेर्न समेत दबाब दिइरहेको पारिवारिक स्रोतको भनाइ छ।
नाबालिका द्वयलाई होस्टाइल बनाउन पीडक पक्ष सक्रिय देखेपछि पीडितलाई संरक्षण गर्न प्रहरी खटाइएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।
‘होस्टाइल बनाउन पीडक पक्ष सक्रिय बनेको हामीले पनि थाहा पायौं। हामीले पीडित परिवारलाई यसरी दबाब दिन आउने विरूद्ध उजुरी दिन आग्रह गरेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘हामीले बालबालिका सेवा केन्द्रको टिम पठाएर काउन्सिलिङ समेत गरिरहेका छौं।’
दलित समुदायका पीडित पक्ष कमजोर हुन सक्ने भएकाले अदालतमा निरन्तर सुनुवाइको व्यवस्था मिलाएको एसपी थापाले बताए। उनका अनुसार आइतबार नाबालिगद्वयको बकपत्र हुनेछ ।