बुटवल उपमहानगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले आइतबार लोगो सार्वजनिक गरेको प्रवक्ता शिव रानाले जानकारी दिए।
लोगो बनाउन उपमहानगरले कलाकारहरूलाई सार्वजनिक आह्वान गरी प्रतिस्पर्धा गराएको थियो। सार्वजनिक भएको लोगो बुटवल उपमहानगर-११ का कलाकार सुशिल न्यौपाने (सौरभ)ले बनाएका हुन्।
लोगो निर्माण गर्दा उपमहानगरको नाम, ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं विशिष्ट मौलिक पहिचान झल्काउने र नेपालको झण्डा राख्न अनिवार्य गरिएको थियो।
सौरभले बनाएको लोगोमा युद्ध भइरहेको जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीका चित्र समेटिएका छन्।
नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठकले करिब एक सय भन्दा बढी प्रतीक चिन्हहरू मध्येबाट ३ वटा प्रतीक चिन्ह कार्यपालिका बैठकमा पठाएको थियो।
तीन वटामध्ये सौरभले बनाएको लोगोमा कला संस्कृति र परिवेश झल्काउने भएकाले छनोट भएको प्रवक्ता रानाले बताए। सौरभलाई उपमहानगरले २५ हजार रुपैयाँ नगर पुरस्कार र सम्मानपत्र प्रदान गर्ने भएको छ।