'अकुपाई टुँडिखेल' अभियानका अभियानकर्ताहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन्।
सोमबार 'अकुपाई टुँडिखेल' का अभियानकर्ताहरूले खुलामञ्चमा काठमाडौं महानगरले खेल मैदान बनाउने तयारी गरेको भन्दै विरोधमा सिडिओलाई ज्ञापनपत्र बुझाएको ‘अकुपाई टुँडिखेल’ का अभियानकर्ता आलोक तुलाधरले जानकारी दिए।
'झट्ट हेर्दा खुलामञ्च सार्वजनिक जग्गा जस्तो देखिएता पनि अहिले सरकारी जग्गामा परिणत हुँदैछ,' ज्ञापनपत्रमा भनिएको छ।
अभियानाकर्ताहरूले ऐतिहासिक र सार्वजनिक खुलामञ्चलाई संरक्षण गराउन सिडिओलाई ध्यानाकर्षण गराएका थिए।
अभियानकर्ताहरूलाई जवाफ दिँदै बस्नेतले महानगरपालिकाले आफूहरूले खुलामञ्च संरक्षण मात्र गर्न लागेको बताए।
जनघनत्व बढी भएको ठाउँमा पर्याप्त खुला ठाउँ राख्नुपर्ने हुन्छ,' उनले भने, 'त्यस्ता खुला स्थानलाई स्थानीय तहले कसरी खुला राख्नुपर्छ भनेर विवेक पुर्याउनुपर्छ।'
यस्तै, बस्नेतले काठमाडौंमा राजनीतिक कार्यक्रम गर्न ठाउँ समेत नभएको बताएका थिए।
'देशभरिबाट संघीय सरकारसँग माग राख्न आवाज उठाउने ठाउँ पनि छैन,' उनले भने, 'त्यस्ता आवाजहरू पनि सार्वजनिक यातायातमा असर पर्ने गरी गर्नुपर्ने अवस्था छ। त्यसको लागि पनि महानगरले खुलामञ्च मर्मत गरेर लिगेसी अनुसार आवाज राख्ने स्थल बनाउने भन्ने बुझिएको छ र विश्वास पनि छ।'