सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि आवेदन खुलेको छ।
यस वर्षको दीक्षान्त समारोहमा दीक्षित हुनका लागि विद्यार्थीहरूले आज (माघ १७)देखि फागुन २ गतेसम्म अनलाइनमार्फत भर्न पाउने गरी आवेदन खुलेको हो।
२०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले आवेदन दिन पाउनेछन्।
आवेदन फाराम भरिसकेपछि मात्र दीक्षान्त समारोहमा सहभागी हुनका लागि दीक्षान्त शुल्क तथा गाउन/स्कार्फ/टोपीको धरौटीवापतको शुल्क परीक्षा नियन्त्रण कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ।
दीक्षान्त शुल्क स्नातकका लागि १ हजार पाँच सय र स्नातकोत्तर तथा एम.फिलका लागि २/२ हजार तोकिएको छ।
गाउन/स्कार्फ/टोपीको धरौटी रकम ४ हजार तोकिएको छ। गाउन/स्कार्फ/टोपी/ लिन जाँदा बैंक भौचर र दुई प्रति एमआरपी साइजको फोटो जम्मा गर्नुपर्ने विश्वविद्यालयले सूचना प्रकाशित गरेर जानकारी दिएको छ।
अभिभावक सहभागी गराउन प्रतिअभिभावक २५० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ।
दीक्षान्त समारोहको विस्तृत जानकारी पछि प्रकाशन हुने विश्वविद्यालयले जनाएको छ।
