सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रमुख एआइजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यले एआइजी बज्राचार्यसहित केही व्यक्तिहरूसँग बयान लिएको हो।
सिआइबीका प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डिएसपी दुर्गा दाहालसँग केही दिनअघि आयोगले सोधपुछ गरेको हो।
पहिलो चरणमा आयोगले ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीमा जोडिएर पुर्पक्षको लागि थुनामा रहेका तथा धरौटीमा रहेका व्यक्तिलाई सोधपुछ गरेको थियो।
सुरूमा तीन महिनाको समयावधि दिएको आयोगलाई सरकारले थप दुई महिनाको समय दिएको छ।
आयोगले अहिले अनुसन्धान र अभियोजनमा संलग्न कर्मचारीसहितसँग सोधपुछ गरिरहेको अध्यक्ष आचार्यले जानकारी दिए।