पश्चिम नेपालमा वर्षा भएको छ।
मौसमविद् मीनकुमार अर्यालले पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न भूभागमा आज वर्षा भएको जानकारी दिए।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मध्यम वर्षासमेत भएका छन्।
मौसमविद अर्यालका अनुसार डडेलधुरामा पछिल्लो २४ घन्टा ९ मिलिमिटर वर्षा भएको छ। दीपायलमा ११.३ मिलिमिटर, धनगढीमा ६.५ मिलिमिटर, विरेन्द्रनगर ४.२, जुम्ला २.४ मिलिमिटर वर्षा भएको हो।
पश्चिम नेपालका अधिकांश उच्च पहाडी भूभागमा बिहानैदेखि हिमपात भएको छ।
जुम्ला, रूकुम, म्याग्दी, मुस्ताङ लगायतका जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको उनले बताए।
मौसमविद् अर्यालले हिउँदे वर्षाको प्रणाली सक्रिय भएको जानकारी दिए। तर यसपालिको प्रणाली कमजोर रहेको उनले बताए। यो प्रणाली काठमाडौंसम्म आइपुग्दा कमजोर हुने भएकाले काठमाडौंमा पानी पर्ने सम्भावना न्यून रहेको अर्यालले जानकारी दिए।
अहिले देखिएको बदली भोलिदेखि नै खुल्न सुरू हुने उनले जानकारी दिए।
‘भरेदेखि नै सुधार हुन पनि सक्छ, केही दिनपछि फेरि सुरू हुने चक्र चलिरहन्छ,’ उनले भने।