काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको छ।
काठमाडौं र ललितपुरमा बिहीबार अपराह्नपख छिटपुट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘उपत्यका आसपासका स्टेसनमा कति पानी पर्यो भनेर रेकर्ड त भइसकेको छैन। तर पानी परेको सूचना प्राप्त गरेका छौं,’ मौसमविद् गोविन्द झाले भने।
महाशाखाले मंगलबारबाट पश्चिम नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको असर देखिने बताएको थियो।
पहाडी भूभागमा बदली, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना बताएको थियो।
सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा बिहीबार बिहानैदेखि हल्का वर्षा भैरहेको छ। साथै देशका मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
पछिल्लो २४ घन्टामा डडेलधुरामा ३२.८ मिलिमिटर पानी परेको झाले बताए।
‘अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ,’ उनले भने।