हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जानकारी दिएको छ।
बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ। यस्तै तराईका थोरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ।
शुक्रबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहने बताएको छ।
यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।