लागुपदार्थ सेवन (लापसे) गरी गाडी चलाउने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार काठमाडौंको नागढुंगामा चेकिङको क्रममा ६ वटा गाडीका चालकलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश २-०३-००१ ख ५१ ८६ नम्बरका कन्टेनर चालक धनकुटाका ३२ वर्षीय बल बहादुर कार्की, भे १ ख ३७ ३४ नम्बरका ट्रक चालक बर्दियाको बाँसगढी नगरपालिका ६ का ३० वर्षीय राजेन्द्र थारू, लु ३ च २६ ४७ नम्बरका पिकअप चालक नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका १२ का २३ वर्षीय पारस वि.क ले लापसे गरी गाडी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै ना ८ ख २३ ०७ नम्बरका बस चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय दिपक थापा, बा ४ ख ५७६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ७ का ३२ वर्षीय कृष्ण परियार र बा ३ ख ४६ ६० नम्बरका हाइस चालक स्याङ्जाको वालिङ नगरपालिका ७ का ३६ वर्षीय लेख बहादुर गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले २५ ओटा सवारी सवारी साधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका हुन् ।
सार्वजनिक, निजि तथा यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नु एसएसपी भट्टले अनुरोध गरे।