दाङमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गएराति १० बजे राप्ति गाउँपालिका-५ दोलेखौला नजिकैको सडकमा रोल्पादेखि लमही जाँदै गरेको बा १८ च ८६१८ नम्बरको पिकअप गाडीले लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक मल्लका अनुसार ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका – ८ बिजौरीका २७ बर्षीय सुनिल चौधरी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि गएराति नै लमही अस्पताल पुर्याइएकोमा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
जिप चालक रुपेन्देही जिल्लाको सुद्वोधन गाउँपालिका – २ का आशविन सुनार घाइते छन । उनलाई आँखामा चोट छ । सुनारलाई उपचारका लागि भैरहवास्थित आँखा अस्पतालमा पठाइएको डिएपसपी मल्लले जानकारी दिए।
मृतकको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ। तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। यसबारेमा अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।