बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शनिबार बनेपाबाट एक जना महिलालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा बनेपा नगरपालिका-६ बस्ने ४५ वर्षीया मन्दिरा केसी (कार्की) छिन्। उनी घराना डेभलपर्स प्रालिकी सञ्चालक हुन्।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर उनले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएकी थिइन्।
त्यसरी प्रालिको नाममा रहेको चाँगुनारायण-७ र ९मा रहेको जग्गाहरू धितो राखेर ऋण प्राप्त गरेकी थिइन्। तोकिएको परियोजनामा ऋण प्रयोग नगरी दुरूपयोग गरेपछि उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा परेको हो।
साविक पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते गरेको फैसलाअनुसार उनलाई ३ महिना कैद र ४ करोड रुपैयाँ जरिवाना सुनाएको थियो। उक्त सजाय बेरुजु भई फरार रहेको भन्दै प्रहरीले मन्दिरालाई पक्राउ गरेको हो।
उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।