नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्याका आरोपितलाई पक्राउ गरेको उपनिर्देशक एवं एसपी नरेन्द्र चन्दले जानकारी दिए।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-१० मानाटोलका ३७ वर्षीय राजकुमार महर्जन छन्। उनलाई प्रहरीले गत बिहीबार पक्राउ गरी आइतबार घटनाबारे सार्वजनिक गरेको हो।
उनले नाबालिकाको नाम र तस्बिर राखेर नक्कली फेसबुक अकाउन्ट बनाएको आरोप छ। जसबाट उनले नाबालिकाका साथीहरूलाई अश्लिल मेसेजहरू गरेर चरित्र हत्या गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा महर्जनले उक्त काम गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।