मिलेमतोमा भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा पठाउने प्रकरणमा अदालतले चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। यस्तै ६ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
यस प्रकरणमा प्रहरीले दस जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो।
अध्यागमन अधिकृत नरवीर खड्का, मनोज तामाङ, सरोजकुमार यादव र अरूण दाहाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
त्यस्तै प्रतिवादी दिनेश ज्ञवालीसँग ७ लाख, रवीन अर्यालसँग १ लाख, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, रामप्रसाद भण्डारीसँग ७ लाख र गीता शाहसँग ५ लाख रूपैयाँ धरौटी माग भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गीताबाहेक अन्यले धरौटी बुझाएर छुटिसकेका छन्। धरौटी नतिरेपछि उनी पनि पुर्पक्षका लागि कारागार चलान भएका छिन्।
परिसरले यस प्रकरणमा २२ जनालाई प्रतिवादी बनाएर माघ १४ गते सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा बुझाएको थियो। सरकारी वकिल कार्यालयले माघ १८ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। २२ जना प्रतिवादी रहे पनि १० जना मात्रै पक्राउ परेका थिए। अन्य फरार रहेकामध्ये आठ जना अध्यागमन अधिकृतहरू छन्।
अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। त्यसबाहेक आशिष भन्ने केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाइ फरार छन्।
कुँवर अध्यागमनबाट गृह सरूवा भइसकेका अधिकृत हुन्। उनको ठाउँमा नरवीर खड्का गएपछि 'सेटिङ' उनैको नेतृत्वमा हुँदै आएको अनुसन्धान अधिकृतहरूले बताउँदै आएका छन्।
प्रहरीका अनुसार यस प्रकरणमा ट्राभल एजेन्सी, अध्यागमन अधिकृत लगायतको मिलेमतोमा भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाउने गरिएको खुलेको हो। प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेपछि यसमा अन्य अधिकृतहरूको पनि संलग्नता खुलेको थियो।
गत असोजमा विदेश जान खोजेका धेरै जनाका कागजातहरू नक्कली रहेको खुलेको थियो। नक्कली कागजातहरू बरामद गरी अनुसन्धानका लागि विमानस्थल प्रहरीमार्फत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएको थियो।
सुरूमा असोज १७ गते १५१३ वटा कागजातहरू बरामद भई कार्यालयमा पठाएको थियो। त्यसपछि पनि पटकपटक नक्कली कागजातहरू बरामद हुन थालेपछि अनुसन्धान अघि बढाइएको थियो।