६० किलो सुन प्रकरणमा फरार रहेकी प्रतिवादी अमला रोकाविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।
रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामा अनुरोध गरेको थियो।
सिआइबीको अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको सिआइबी प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए।
उनी काठमाडौंको ठमेलस्थित भियना होटल सञ्चालक समेत हुन्। उनका श्रीमान बेल्जियन नागरिक दावा छिरिङ प्रहरीको हिरासतमा छन्।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो।
सुरूमा विभागले अनुसन्धान गरेपनि पछि अन्तरदेशीय अपराध र संगठित अपराध जोडिएपछि सिआइबीले अनुसन्धान थालेको थियो। दावा छिरिङलाई विभागकै टोलीले पक्राउ गरेपछि अमला भने फरार भएकी थिइन्।
यस घटनामा तस्कर समूहले त्यसअघि ३०२ किलो सुन तस्करी गरेको सिआइबीको निष्कर्ष थियो। यही टोलीले ९ किलो भेपमार्फत् सुन तस्करी गरेको पनि प्रहरीको भनाइ छ।
जसक्रममा प्रहरीले २६ जनालाई पक्राउ गरी मुद्दा बुझाएको थियो। जिल्ला अदालत काठमाडौंले असोज १९ गते २५ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
त्यस आदेशविरूद्ध दावासहित अभियुक्तहरू उच्च अदालत पाटनमा उक्त आदेशविरूद्ध निवेदन दिन पुगेका थिए। जसमा ६ जनालाई धरौटीमा छाड्न आदेश दिएकोम थियो। दावासहित १२ अभियुक्तलाई भने जिल्लाकै आदेश सदर गरी पुर्पक्षका लागि थुनामै राख्न भनेको थियो।