ज्यान मार्ने धम्की दिँदै ५ करोड फिरौती मागेको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४ का दीपकबहादुर क्षेत्री छन्। उनीहरू दुबै जना पोखरा–८ सिमलचौरबाट बुधबार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए।
उनीहरूले पोखरा–१६ लामाचौरका सच्चाई सेवा केन्द्र संचालक तथा सच्चाई केन्द्र नेपालका अध्यक्ष प्रकाशदीप गैरेलाई धम्की दिएर ५ करोड फिरौती माग गरेको प्रहरीले जनाएको छ। उनीहरूले गैरेलाई फोन तथा म्यासेजमार्फत हत्या गर्ने धम्की दिएका थिए। गैरेका परिवारलाई समेत हत्या गर्ने उनीहरूले धम्की दिएको प्रहरीले बताएको छ।
हत्याको धम्की दिएर फिरौती माग गर्न उनीहरूले हिन्दी भाषाको प्रयोग गरेका थिए। पक्राउ परेका दर्जी र क्षेत्रीका साथबाट भारतीय सिमकार्ड १ थान, नेपालको एनसेलको सिमकार्ड ३ थान, एनटिसीको सिमकार्ड ५ थान र मोबाइल ४ सेट पनि बरामद गरेको छ।
अभियुक्तद्वयबाट प्रहरीले ५ सय ७२ ग्राम गाँजा, भरुवा बन्दुकमा लाग्ने केप २७ थान लगायत पनि बरामद भएको डिएसपी विकले बताए।
पक्राउ परेका दर्जी र क्षेत्रीले युट्युबमा गैरेको भिडिओ हेर्ने गरेको बताएका छन्। गैरेका बारेमा बुझ्न माघ १३ गते सच्चाई केन्द्र गएर करिब २ घण्टा बसेका थिए। त्यही बेला उनीहरूले गैरेको फोन नम्बर पत्ता लगाएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दर्जी र क्षेत्रीले माघ १८ गते पहिलो पटक फोन र म्यासेजमार्फत धम्की दिएर ५ करोड माग गरेका थिए।
फेरि उनीहरू २० गते सच्चाई केन्द्र गएर आफूहरूले दिएको धम्कीको असरबारे बुझेको डिएसपी विकले बताए।
‘धम्की दिँदै सच्चाई केन्द्र गएको देखिन्छ, धम्की दिएर माघ २३ गते पनि सच्चाई केन्द्र गएर आधा घण्टामा निस्किएका रहेछन्,’ उनले भने, ‘ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती मागेको विषयमा अनुसन्धान हुँदै गर्दा बुधबार राती पक्राउ गर्न सफल भएका हौं।’
अभियुक्त क्षेत्री यसअघि पर्वतमा २०७९ सनलान हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलेको र २०७१ मा पोखरामा अभद्र व्यवहारमा मुद्दा चलेको प्रहरीले बताएको छ। उनीहरूलाई अपराधिक लाभ, हातहतियार तथा खरखजना र लागुऔषध सम्बन्धी मुद्दा चलाउने प्रहरीको तयारी छ।