बागमती प्रदेशमा प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८०को उद्घाटन भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको आयोजनामा बिहीबारदेखि प्रदेश स्तरीय ट्राफिक सप्ताहको सुरूवात भएको हो।
यस कार्यक्रमका लागि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सहकार्य गरेको छ।
बागमती प्रदेशका १० वटै जिल्ला प्रहरी कार्यालयमा पनि उक्त कार्यक्रमको आयोजना भएको छ। कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, लगायतको उपस्थिति थियो। कतिपय जिल्लामा विभिन्न जातजातिका भेषभुषा, बाजासहित र्याली समेत निकालिएको थियो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको कार्यक्षेत्र भित्र पर्ने बागमती प्रदेशका १० वटा जिल्लाहरूमा कच्ची, ग्राबेल तथा पक्की सडक गरी जम्मा ११,१०१ कि.मि. सडक सञ्जाल छ।
जसमध्ये कालो पत्रे १,९७९ कि.मि., ग्रावेल २,९०२ कि.मि. र कच्ची ६,२२० कि.मि रहेको छ।
सडकमा जनशक्ति र स्रोत साधनको अभावबीच ट्राफिक व्यवस्थापन सुधार भइरहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सडकको अवस्था हेर्दा एक जना ट्राफिक प्रहरीले बागमती प्रदेशमा २८.७६ कि.मि. सडकको दुरी हेर्नु पर्ने अवस्था छ। प्रदेशमा दैनिक सवारीसाधन औषधमा ६२ हजार गुड्ने गर्छन्।
नेपालमा सवारी दुर्घटनाबाट सरदर दैनिक १२ जना मानिसले ज्यान गुमाउने गर्छन्। गत आर्थिक वर्ष २०७९/०८० मा बागमती प्रदेशभर १९४२ वटा दुर्घटनाबाट ३०४ जनाको मृत्यु भएको थियो।
चालु आ.ब.को पुस मसान्त सम्म ९२० वटा सवारी दुर्घटना भई १५३ जना मानिसको मृत्यु भएको छ।
यस्तै बागमती प्रदेशमा गत आर्थिक वर्षको तथ्यांकलाई विश्लेषण गर्दा सरदर दैनिक ५.३ वटा सबारी दुर्घटना हुने गरेको छ।
गत आ.ब.मा भएका सवारी दुर्घटना मध्ये सवारी चालकको लापरवाही र तिव्र गतिले गर्दा सबै भन्दा बढी ७०%, यात्रुका कारण ४%, यान्त्रिक कारण (बिग्रिएको सवारी चलाउँदा) ५%, ओभरलोड ३% र मौसम र सडकको कारण १२% प्रतिशत सवारी दुर्घटना हुने गरेको पाइएको छ।