दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहामा सिँचाइका लागि बिछ्याएको भूमिगत पाइप बजार मूल्यभन्दा दोब्बर बढी मूल्यमा खरिद गरेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्।
कटाहा गाउँ डबरामा गत वैशाखमा स्थानीय हेमराज बस्नेतले सिँचाइका लागि एक सय मिटरको भूमिगत पाइप बिछ्याएका थिए। बस्नेतलाई वडाध्यक्ष मानबहादुर रावतले उक्त कामको जिम्मा दिएका थिए। पाइप पनि वडा कार्यालयले नै किनेर दिएको बस्नेतले बताएका छन्।
वडा कार्यालयले किनेर दिएको उक्त पाइप बजार मूल्यभन्दा बढीमा किनेको र भ्रष्टाचारको आशंका भएको भन्दै स्थानीयले असन्तुष्टि पोखेका छन्।
वडा कार्यालयले वैशाख १९ गते तुलसीपुर बजारको ‘सुनगाभा ट्रेडर्स’बाट पाइप खरिद गरेको थियो। ट्रेडर्सले दिएको बिलमा भ्याटसहित दुई लाख रुपैयाँ उल्लेख छ।
तर उक्त मूल्य अस्वभाविक लागेपछि बस्नेतसहित स्थानीयहरू बिहीबार उक्त ट्रेडर्समा पुगेका थिए। स्थानीयले तत्कालीन मूल्य र अहिलेको मूल्यबारे जानकारी लिएका थिए।
१०० मिटर पाइपको ८४ हजार रुपैयाँ पर्ने जानकारी पाएपछि भ्रष्टाचार भएको हुनुपर्ने भन्दै स्थानीयहरूले प्रश्न उठाएका हुन्।
ट्रेडर्सका संचालक गोकर्ण गिरीले पाइप खरिदका लागि वडा कार्यालयलाई कोटेशन पठाएको र वडाले नै सहमती जनाएपछि पाइप बेचेको बताए। उनले यसमा आफू निर्दोष रहेको पनि बताएका छन्।
‘मैले कोटेशन अनुसार पाइप दिएको हुँ। त्यसैले मेरो कुनै दोष छैन,’ उनले भनेका थिए, ‘यसबारे तपाईंहरू वडा कार्यालयमा गएर जवाफ माग्नुस्।’
उनले त्यतिबेला अहिलेको मूल्य भन्दा ५० प्रतिशत बढी महंगो भएको पनि दाबी गरे। अहिले उक्त मूल्य आधाले घटेका कारण यस्तो भएको बताएका हुन्।
पाइप बिछ्याउन जिम्मा लिएका बस्नेतले पनि वडाध्यक्ष रावतमाथि आर्थिक अनियमितताकोआरोप लगाएका छन्। त्यसका लागि वडाध्यक्ष रावत र हार्डवेयर संचालकबीच मिलेमतो भएको पनि बताए। वडाध्यक्ष रावतले भने पाइप किन्न आफैं पसलमा नगएकाले आफू निर्दोष भएको बताए।
‘कसको बदमासी हो भन्ने प्रश्न मलाई सोध्नुभन्दा तपाईंहरूले पसलमा किन्न जाने दुई कर्मचारी, वडा सदस्य र हार्डवेयर व्यवसायीसँग पो सोध्नुपर्छ,’ वडाध्यक्ष रावतले भने, ‘म पसलमा जाँदै नगएको व्यक्तिलाई बेकारमा किन दोष लगाउनु?’
आफूले वडामा राम्रै काम गरिरहेकाले डाहा गर्नेहरूले षड्यन्त्र गरी बदनाम गर्न खोजेको पनि उनले बताए।
ट्रेडर्सका सञ्चालक गोकर्ण गिरीले पनि वडाध्यक्ष रावतमाथि आरोप लगाएका छन्।
‘पैसा नखाई कामै गर्न नमान्ने अनि आज अरूलाई दोषारोपण गर्दै उम्कन खोज्ने जनप्रतिनिधिको चरित्र उदेक लाग्दो छ,’ उनले भने।
स्थानीयहरूले यसमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जाने बताएका छन्।
बस्नेतले वडामा गत असार भित्रै पाइप बिछ्याउने काम सकेका थिए। काम सकेपछि बस्नेतले जेसिबी, मजदुर खर्च र व्यक्तिगत रूपमा गरेको खर्च जोडेर झन्डै ६६ हजार भएको बताउँछन्। त्यो भुक्तानी माग्न जाँदा वडा कार्यालयले दुई लाख पाइप किन्न खर्च भइसकेको भन्दै उनलाई थप रकम दिन नसकिने जवाफ दिएको थियो।
वडाध्यक्षले रकम दिन नसकिने बताएपछि पाइपको प्रचलित बजार मूल्य खोजी गर्दा अनियमितताको आशंका भएको स्थानीयहरू बताउँछन्। यस्तै वडा सदस्य यज्ञबहादुर बस्नेतले पनि बजार मूल्य भन्दा बढीमा पाइप खरिद गर्नुले अनियमितता भएको स्पष्ट भएको पनि बताए।
‘पाइपको प्रचलित बजार मूल्य भन्दा बढी महंगो पाइएको हुँदा अनियमितताको आशंका स्पष्ट भइसकेको छ,’ वडा सदस्य बस्नेतले भने, ‘अब यसको छानबिन हुनै पर्छ।’