ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको छ।
शनिबार अपराह्न महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित ओचुहाइटको एक घरमा अचेत अवस्थामा फेला परेका दुई जना बच्चाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए।
उनका अनुसार ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको हो।
अपराह्न साढे ४ बजे उनीहरूकी आमा ३६ वर्षीया रबिना महर्जनले घरको चौथो तलबाट हाम फालेकी थिइन्।
उनी हाम फालेपछि स्थानीयले उद्धार गरी किस्ट अस्पताल पुर्याएका थिए।
त्यस घटनापछि घरभित्र पुग्दा कोठाभित्र दुई जना बच्चाहरू पनि अचेत अवस्थामा फेला परेका थिए।
उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। बच्चाहरूको मृत्यु के कारणले भएको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।
'कोठामा अचेत फेला परेका दुई बच्चालाई अस्पताल लगिएको थियो। चिकित्सकले मृत घोषणा गरेको छ,' उनले भने, 'आमाले घरबाट हाम फालेको भन्ने छ। बच्चाहरूको मृत्यु के कसरी भएको भन्ने आमाको होस आएपछि थाहा होला।'
रबिनाको अवस्था गम्भीर रहेको पनि एसएसपी खनालले बताए।
उनका श्रीमान हाल उपचारमा संलग्न छन्। घटना हुँदा भने उनी घरमा थिएनन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। बच्चाहरूको मृत्यु कसरी भएको भन्नेबारे पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ।
यद्यपि बच्चाहरूको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।