यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ।
सोमबार बिहान महानिर्देशकमाथि दुर्व्यवहार भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीका अनुसार महानिर्देशक रिजाललाई केही व्यक्तिहरूले निलो रङको मसी छ्यापेका हुन्।
ती व्यक्तिहरू मोहन वैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालका रहेको खुलेको छ।
क्रान्तिकारी युवा संगठनले फेसबुकमा महानिर्देशकलाई मोसो दलिएको भन्दै भिडिओ राखेको छ।
महानिर्देशक रिजालले नक्कली लाइसेन्स छानबिन प्रतिवेदन सार्वजनिक नगरेको, विभागको कम्प्युटर सिस्टममा प्रत्यक्ष संलग्न रहेको, नक्कली लाइसेन्स बाँड्ने प्रक्रियामा संलग्न रहेको उनीहरूको आरोप छ।
सवारी तथा यातायात व्यवस्था ऐन, नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट इडिएल प्रणालीमा चलखेल गरेको र नक्कली लाइसेन्स वितरण गर्ने कर्मचारीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै मोसो दलिएको उनीहरूले दाबी गरेका छन्।
विभागमा रिजाल महानिर्देशक नियुक्त भएपछि नक्कली लाइसेन्स धन्दासम्बन्धी अध्ययन गर्न थालिएको थियो।
विभागको सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा अध्ययन समिति बनाइएको थियो। उक्त समितिमा विभागका शाखा अधिकृत अर्जुन अधिकारी, सविन श्रेष्ठ, बोधराज बराल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहाल सदस्य थिए। उक्त अध्ययन समितिले कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा थुप्रै लाइसेन्स बनाएको खुलेको हो।
समितिले तयार पारेको प्रतिवेदन अनुसार देशभरका विभिन्न यातायात कार्यालयबाट एक लाख दुई हजार सात सय ११ वटा नक्कली लाइसेन्स जारी गरिएको भेटिएको छ।
यो पनि: कार्यालय कर्मचारी र बिचौलियाको मिलेमतोमै नक्कली लाइसेन्स जारी